Thursday, November 13, 2014

सौन्दर्य बढाउने पेयपदार्थ

कागती–पानी नियमित पिउने गर्नाले शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । यसले शरीरमा भएको नचाहिने बोसो पगाल्ने काम गर्छ, ताजा महसुस गराउँछ, तपाईका घरमा हाम्रा डाक्टर फूर्ति बढ्छ, अनुहार तेजिलो हुन्छ ।

उचित पेयपदार्थको सेवन गर्ने हो भने स्वस्थ र सुन्दर रहन धेरै मद्दत पुग्छ । चिया–कफी प्रायः सबैलाई थाहा भएकै पेयपदार्थ हो । सही तरिका र उचित मात्राको चिया–कफीले स्वास्थ्यलाई हानि पुर्याउँदैन । तर धेरै मात्रामा चिया–कफी पिउने गर्नाले स्वास्थ्य र सुन्दरतामा नराम्रो असर पर्छ । किनभने चिया–कफीमा शरीरलाई हानि पुर्याउने क्याफिन तत्त्व हुन्छ । क्याफिनले शरीरको मेटाबोलिजम प्रक्रिया तीव्र पार्न मद्दत पुर्याउँछ । यसले गर्दा मुटुको धड्कन तेजका साथ चल्न थाल्छ, फलस्वरूप शरीरको रक्तचाप बढ्न पुग्छ । अनि स्वास्थ्य र शारीरिक सुन्दरतामा समेत नकारात्मक असर पुग्न सक्छ । चिया–कफी पिउनै हुन्न भन्न खोजेकोचाहिँ होइन, उचित मात्रामा पिउनाले स्वास्थ्यलाई कुनै हानि पुर्याउँदैन । यहाँ स्वास्थ्य र सुन्दरताका लागि उपयोगी र सजिलै प्राप्त हुने केही पेयपदार्थको बारेमा जानकारी दिन खोजिएको छ ।


पानी
पानी सजिलै उपलब्ध हुने उत्तम पेयपदार्थ हो । पानीविना कुनै पनि प्राणी बाँच्न सक्दैन । हाम्रो शरीरलाई कम्तीमा ६६ प्रतिशत पानीको आवश्यकता पर्छ । पानीमा क्यालोरी हुँदैन । तसर्थ पानी पिउँदा यसको मात्रा अलिकति बढाइयो भने पनि कुनै हानि पुर्याउँदैन । पानीले शरीरलाई सुक्खा हुनबाट बचाइराख्छ । यसले शरीरभित्र रहेका विषालु तत्त्वहरू बाहिर निकाल्न पनि मद्दत गर्छ । साथै पाचन क्रियामा र छाला ताजा राख्न पानीले धेरै मद्दत पुर्याउँछ । जब पाचन राम्रो हुन्छ, शरीरको दूषित पदार्थ बाहिर निक्लन्छ र छाला ताजा हुन्छ, शरीर स्वस्थ एवम् सुन्दर हुन्छ ।

दूध
पेयपदार्थमध्ये बढी पौष्टिक तत्त्व भएको आहार दूध हो । त्यसैले दूधलाई अमृत मानिएको छ । दूधमा स्वास्थ्यलाई आवश्यक पर्ने सम्पूर्ण तत्त्व हुने भएकाले पनि यसलाई सर्वात्तम तथा सम्पूर्ण खाद्यवस्तु भन्ने गरिन्छ । दूधमा क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा हुने भएकाले यसको सेवन गर्न जोड गरिएको हो । कमसे कम दिनको एक गिलास दूध पिउनु जरुरी छ । दूधको सेवनले कपाल एवम् नङलाई स्वस्थ, बलियो र चम्किलो बनाउन मद्दत गर्दछ । यो सबै उमेरका व्यक्तिलाई लाभ पुर्याउने पेयपदार्थ हो ।

कागती–पानी
  कागती–पानी नियमित पिउने गर्नाले शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । यसमा नून या चिनी मिसाएर पनि सेवन गर्न सकिन्छ । कागती–पानी पिउनाले पानीको प्यास कम हुन्छ, शरीरबाट निस्कने पसिनाको दुर्गन्ध हट्छ, गर्मीमा शीतलता प्रदान गर्छ । यसले शरीरमा भएको नचाहिने बोसो पगाल्ने काम गर्छ र शरीर स्वस्थ राख्छ । कागती–पानी पिउने गर्दा मधुमेहको रोगीलाई पनि फाइदा पुग्छ । साथै यसको सेवनले ताजा महसुस हुन्छ, फूर्ति बढ्छ, अनुहार तेजिलो हुन्छ ।

नरिवलको पानी
प्रकृतिको उपहारमध्ये नरिवल पनि एक बहुउपयोगी आहार हो । नरिवलमा स्वास्थ्य एवम् सुन्दरताका लागि उपयोगी गुणहरू हुन्छन् । विभिन्न रोगको उपचार र सौन्दर्य प्रशाधनमा नरिवलको उपयोग गर्न सकिन्छ । नरिवलको पानी दूधजस्तै स्वास्थ्यवद्र्धक आहार हो । यो सौन्दर्य संवद्र्धनको लागि पनि उपयोगी हुन्छ । नरिवलको पानीमा पोटासियम र भिटामिन ‘सी’ प्रशस्त हुने भएकाले यो पानी पिउने गर्नाले शरीरमा ताजापन महसुस हुन्छ । यसका साथै छालामा चमक आउने, छाला स्वस्थ हुने र चाउरी कम देखिने हुन्छ ।

हरियो तरकारीको रस
मौसमअनुसारको ताजा र हरियो तरकारीमा सोडियम, पोटासियम, क्याल्सियम, विभिन्न प्रकारका खनिज तत्त्व र सबै किसिमका भिटामिन पाइन्छ । यी सबै तत्त्व शरीर स्वस्थ राख्नका निमित्त अति आवश्यक हुन्छ। त्यसकारण पनि हरियो तरकारी प्रशस्त खानु जरुरी छ । हरियो तरकारीको रस पिउन मन छैन भने काँचो तरकारी जस्तै– गाजर, काँक्रो, चुकन्दर, गोलभेंडा, बन्दाकोपी, काउली आदि खान सकिन्छ । यसरी ताजा तरकारी खाने गर्नाले शरीरमा रगतको मात्रा वृद्धि गर्न मद्दत पुग्छ । शरीरमा रगतको मात्रा पूरा भएमा शरीर स्वस्थ हुन्छ । जसले गर्दा छालामा रौनक देखिन्छ, अनुहार रातो–पिरो र ताजा देखिन्छ ।

सजिलै प्राप्त गर्न सकिने उल्लिखित पेयपदार्थहरूको सेवन बढाउन सके शरीर स्वस्थ हुनुका साथै प्राकृतिक रूपमै सुन्दरता वृद्धि गर्न मद्दत मिल्छ ।

No comments:

Post a Comment

script type="text/javascript">stLight.options({publisher: "5a71ec9f-f89f-4c29-971c-1252b79abdd3", doNotHash: false, doNotCopy: false, hashAddressBar: false});